प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवासमा चुच्चे नक्सा सहितको निशान छाप थियो, राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर थिएन । शुक्रबार साँझ सम्पादकहरूले उक्त सवाल उठाउँदामात्रै उनलाई यो तथ्य हेक्का भयो ।
खासमा मूल बैठक कक्षमा राष्ट्रपति र उनी दुवैको तस्वीर छैन जो मुख्य सरकारी कार्यालयहरूमा अनिवार्य हुने गर्छ ।
राष्ट्रपतिबाट २७ भदौमा प्राप्त चिठीमा उनलाई एउटै कार्यभार छ– २१ फागुनमा चुनाव गराउने ।
ढाकाको पूरा बाहुले ब्लाउज, अनि साधारण सारी अनि चप्पलमा विभिन्न सञ्चारमाध्यमका दर्जनबढी सम्पादकसँग तीन घण्टाभन्दा लामो भलाकुसारी गरेकी प्रधानमन्त्री कार्कीले तुलनात्मक थोरै बोलिन्, धेरै सुनिन् ।
‘अरू कोठाहरूमा राष्ट्रपतिज्यूको तस्वीर छ, यहाँ रहेनछ,’ उनले सम्पादकहरूलाई प्रष्टीकरण दिइन् । अर्को प्रसंगमा उनले हाँस्दै थपिन्, ‘तपाईंहरूले गाली गरे पनि म दुःख मान्दिनँ । दुईचार आलोचना नगरी, मिडिया पनि त चल्दैन ।
जेनजी विद्रोहपछि २७ भदौमा प्रधानमन्त्री बनेकी कार्कीले निर्धारित मितिमा चुनाव गराइछाड्ने प्रतिबद्धता जनाइन् । चुनावबाहेक आफ्नो ध्यानदृष्टि अन्त नभएको उनको भनाइ थियो । उनले यसका लागि निर्वाचन आयोग, सुरक्षा निकायलगायत सम्बन्धित मन्त्रालयहरू अनि सरोकारवालाहरूसँग राम्रोसँग समन्वय भइरहेको जानकारी दिइन् ।
तोकिएको मितिमा चुनाव हुन्छ कि हुँदैन, या बीचमा अर्को सरकार गठन भएर त्यसले चुनाव गर्ने हो भन्ने किसिमका आशंका दूर गर्न उनले सक्दो कोशिस गरिन् ।
‘म त प्रधानमन्त्री हुन तयारै थिइनँ । मेरो बुढो र मेरो लन्डन जाने टिकट थियो ४ असोजको,’ कार्कीले भनिन्, ‘ जेनजी आन्दोलनमा एक जना आफन्तले गोली खायो भनेपछि बुढाले म त सक्दिनँ, तिमी सिभिल अस्पताल जाउ भने । म डा. अभिषेकलाई लिएर त्यहाँ पुग्दा भतिजो त्यहाँ थिएन । ऊ केएमसीमा रहेछ । त्यही बेला जताततै गोली खाएका केटाकेटी देखें । एउटाले रुँदै भन्यो, ‘साथीसँग अँगालो मार्दै आन्दोलनमा गएको । उसले मेरै अघि गोली खायो । यहाँ ल्याइपुर्याउँदा प्राण गयो ।’